काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् ।
शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि पूर्वराजा शाहले सो कुरा बताएका हुन् ।
उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए ।
पूर्वराजा शाहले भने,‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ। कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन । देशको शान्ति कायमै होस् ।’
उनले आफूलाई गोरखा आउन पाएर खुसी लागेको सुनाए । उनले अहिले देशमा कोही पनि केही गर्नका लागि डराउनु नपर्ने पनि बताए ।
शनिबार बिहान १० बजे पूर्वराजा शाह गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुगेका थिए । त्यहाँ उनलाई मन्दिरका पूजारीहरूले स्वागत गरे ।
पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरे । गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ ।