काठमाडौं । नेपाल प्रहरीका विभिन्न पोष्टमा कार्यरत १६ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका उनीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।
सम्पर्कविहीन हुनेमा दुई जना प्रहरी सहायक हवल्दार, १२ जना प्रहरी जवान र दुई जना प्रहरी कार्यालय सहयोगी रहेका छन् ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो ।
सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने हेडक्वार्टरको चेतावनी छ ।