धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रहरी हवल्दार तथा जवानहरूको पिरमर्का सुन्न थालिएको छ ।
चालु आर्थिक वर्षका लागि आईजीपी र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबीच भएको वार्षिक कार्यसम्पादन सम्झौताको बुँदा नम्बर ४० अन्तर्गत नव-प्रवर्द्धनात्मक कार्यको व्यवस्थाअनुसार 'प्रहरी हवल्दार तथा जवानहरूको पिरमर्का सुनुवाई' कार्यक्रम शुभारम्भ गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख तथा एसएसपी प्रकाश मल्लबाट चैत ८ गते उक्त कार्यक्रम स्वीकृत भई आइतबार डडेल्धुरामा औपचारिक रूपमा शुभारम्भ भएको हो ।
यस कार्यक्रमको पहिलो चरणमा प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूमा कार्यरत ५५० जना प्रहरी हवल्दार तथा जवानहरूको सहभागिता रहनेछ ।
कार्यक्रमको प्रारम्भ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट गरिएको छ, जहाँ प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीको कमाण्डमा पिरमर्का सुनुवाई टोली खटिएको छ।
यस कार्यक्रममार्फत प्रहरी हवल्दार तथा जवानहरूको समस्याहरूको सुनुवाई गरी समाधानका लागि आवश्यक पहल गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै, यो कार्यक्रम प्रदेशका अन्य प्रहरी कार्यालयहरूमा क्रमशः सञ्चालन गरिनेछ ।