काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।
उनीहरुलाई हतकडी लगाएरै म्याद थप्न सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौंमा लगिएको हो ।
थुनुवाको पोशाकमा रहेका रवीन्द्र मिश्रलाई हतकडी लगाइएको छ । धवल शमसेर जबरालाई भने बेग्लै गाडीमा हतकडी नलगाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार म्याद थपको पेशी न्यायाधीश तारादेवी महर्जनको इजलासमा तोकिएको छ । तीनकुने घटनामा पक्राउ परेकामध्ये ४१ जनामाथि प्रहरीले मुद्दा चलाउने निर्णय गरेको छ ।
४१ मध्ये ११ जनालाई राज्यविरुद्धको कसुर र अरु बाँकीलाई अपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले मिश्र र राणालाई राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।