काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको पछिल्लो अभिव्यक्तिप्रति प्रश्न उठाएका छन् ।
पूर्वाधारमन्त्री लम्सालले ठेकेदारको ‘खुट्टा भाँचिदिनू’ भनि दिएको अभिव्यक्तिलाई लिएर उपसभापति शर्माले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न गरेका हुन् ।
आज एक भिडियो सन्देशमार्फत मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाव दिँदै उपसभापति शर्माले भने- 'सुदूरपश्चिम धनगढीबाट खबर आयो- एक श्रमिक महिलाको टेम्पु भिरबाट धकेलेर नष्ट गरियो । मधेस प्रदेशको सिराहामा परीक्षा हलमा भेटिएका ५०० बढी मोबाइल पानीमा डुबाएर नष्ट गरियो ! एकजना मन्त्रीजी सडकमा पुग्नु भएछ । र, भन्नु भएछ कि यो बाटो निर्माणमा ढिलो गर्ने निर्माण व्यवसायीलाई भेट्नुभो भने खुट्टा भाचिदिनुस् ।'
कुनै चोरीमा चोरलाई सजाय दिनुको सट्टा दुइटै हात काटिएको घटना जस्तो मन्त्रीहरुको अभिव्यक्ति देखिएको शर्माले टिप्पणी गरेका छन् ।
यसैबीच उनले चुनावका बेला हालका प्रधानमन्त्रीले समेत रुखमा बाँध्नु भनेको स्मरण गरेका छन् ।
उनले थप भनेका छन्- 'प्रधानमन्त्रीज्यू समाज कता जाँदै छ ? यहाँलाई सोधौ लाग्छ । तर, यहाँले पनि चुनावकै बेलामा के भन्नु भएको थियो भने यदि बाटो निर्माण गर्न ढिलो भयो भने रुखमा बाँधेर समाधान गर्नुपर्छ । प्रधानमन्त्रीज्यु यदि जाँदै छैनौँ भने कम्तीमा आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस् ।'
पूर्वाधारमन्त्री लम्सालले आइतबार नौबिसे–मलेखु सडकखण्डको अनुगमनका गएका थिए । सडकमा रहेको बिजुलीको पोल नसारेको पाएपछि उनले सम्बन्धित ठेकेदारको ‘खुट्टा भाँचिदिनू’ भनेका थिए ।
पूर्वाधार विकासमन्त्री लम्सालको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यही भिडियो आएपछि कांग्रेस उपसभापति शर्माले प्रतिक्रिया जनाएका हुन् ।