काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा भएको हारको प्रारम्भिक समीक्षा गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले १३ पानाको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका हुन् ।
उनले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरेका छन् ।
'लोकतन्त्रमा प्रश्नलाई सदैव प्रोत्साहित र फरक मतलाई सदैव सुरक्षित गर्नै पर्दछ तर, पार्टीको आन्तरिक जीवनमा हामीले कतिपय बेला जायज प्रश्नहरूलाई पनि नजरअन्दाज ग¥यौँ, कतिपय बेला फरक मतका नाममा गुटबन्दीको अभ्यास चर्कैसँग ग¥यौँ । विचार समूहलाई समर्थन गरिरहँदा विचारलाई होइन व्यक्तिलाई केन्द्रमा राख्यौँ । विमति पनि हामीले तर्कसँग होइन व्यक्तिसँग राख्यौँ । गुटबन्दीको यो चित्र प्राय सबै दलभित्र उस्तै उस्तै चरित्रका रूपमा विद्यमान थिए । जसबाट पार्टीका इमानदार सदस्यहरू आजित थिए, अनि नागरिक पंक्तिमा गुटबन्दीको स्वरप्रति वितृष्णा थियो,' उनले भनेका छन्,
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टी पराजयलाई लामो समयदेखि नागरिक पङ्क्तिमा जमेर बसेको असन्तुष्टि र निराशाको उत्कर्ष प्रकट भएको उनले बताएका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फ गरी३८ सिट मात्रै जितेको थियो ।