काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त भएको ५ महिनापछि गत महिना बल्ल डीआईजीमा बढुवा भयो । सिनियरलाई छुटाएर जुनियर ब्याचका दीपेन्द्र कुँवर र विष्णु भट्टलाई डीआईजी बनाइयो ।
एसएसपी बढुवामा पनि त्यस्तै हुने सम्भावना देखिएको छ । जसकारण बढुवा नै एक महिनादेखि अवरुद्ध हुन पुगेको छ । पाँच एसएसपी पद रिक्त रहेकोमा २० भन्दा धेरै एसपी प्रतिस्पर्धामा छन् ।
यसअघि बढुवामा पछि परेकाहरू अहिले गृहमन्त्री रमेश लेखकलाई प्रभावमा पारेर बढुवा हुने दाउमा छन् । उनीहरुकै कारण बढुवा रोकिएको छ ।
जसमा विवादास्पद एसपी हर्क पन्त समेत छन् । जो सिन्धुपाल्चोकको गुल्मको प्रमुख हुँदा तस्करीको मोबाइलसहित धुलिखेलमा पक्राउ परेकोमा जेल परेर संगठनकै बदनाम गराएका अधिकृत हुन् ।
पछि सफाई पाएका उनी अहिले आर्थिक चलखेल गरेर बढुवा हुने दाउमा छन् । त्यस्तै, जुनियरहरू समिक महर्जन, दिपेन्द्र कुँवर (क), रुपकुमार क्षेत्री, प्रदीपसिंह कार्की लगायत पनि शक्तिकेन्द्र धाइरहेका छन् ।
सो ब्याचका सिनियरहरू ध्रुर्व कार्की, जनक पुरी, यादव विश्वकर्मा, अशोक बम, टोप खनाल, वीरेन्द्र ऐर, दीपक थापा, महेश अधिकारी पनि बढुवाको मुख्य प्रतिस्पर्धी हुन् ।
तर, चलखेल नरोकिए उनीहरुमध्ये केही छुट्ने सम्भावना देखिएको छ । स्रोतका अनुसार जुनियर एसपीहरु शक्तिकेन्द्र पुगेकै कारण सशस्त्रका आईजीपी राजु अर्यालले बढुवा प्रक्रिया अघि बढाउन सकेका छैनन् ।
गृहमन्त्री लेखक पनि बदनाम एसपीहरुको प्रभावमा परिसकेका छन् । सशस्त्र प्रहरीमा यसै त बढुवाको जाम छ, अर्कोतर्फ चलखेलका कारण महिनौं पदहरु रिक्त हुने संगठनमा नैराश्यता बढ्दै गएको छ।