काठमाडौं । काठमाडौंको बानेश्वर र बालाजु वृत्तका डिएसपीको अवधि नपुगी सरुवा भएको छ।
बुधबार १२१ डिएसपीको सरुवा हुँदा बानेश्वर वृत्तका डिएसपी विरेन्द्र गोदार र बालाजु वृत्तका दानबहादुर थापालाई हटाइएको छ ।
उनीहरु गत असोजमा मात्र ती वृत्तमा गएका थिए । कार्यसम्पादन राम्रो नभएकाले अवधि नपुगी हटाइएको प्रहरी स्रोत बताउँछ । बानेश्वर वृत्तका डिएसपी गोदार अनेक विवादमा परेका थिए।
उनका दुई घुमुवा घुसकाण्डमा पक्राउ परेका थिए भने शान्ति सुरक्षा कायम गर्न पनि उनी कमजोर देखिएका थिए । १५ चैतमा भएको प्रदर्शनमा तीनकुनेक्षेत्रमा लुटपाट र तोडफोडको आतंक मच्चिएको थियो।
त्यस्तै,बालाजु वृत्तका डिएसपी थापा कार्यसम्पादनमा कमजोर देखिएपछि फेरिएका हुन्।
बानेश्वर वृत्तमा काठमाडौं परिसरमा कार्यरत हरि खतिवडा र बालाजु वृत्तमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका डिएसपी ज्ञानबहादुर विष्ट खटाइएको छ ।
त्यस्तै, कालिमाटी, थानकोट, सातदोबाटो र ठिमी वृत्तका डिएसपी पनि फेरिएका छन्। कालिमाटीमा मधु कुमार थापा, थानकोटमा एलिजा गिरी, सातदोबाटोमा रामकुमार यादब र ठिमीमा नवराज ढुंगानाको सरुवा भएको छ ।