Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मोरङको विराटचोक तनावग्रस्त : हवाई फायर र अश्रुग्यास प्रहार, डीएसपी घाइते

मोरङको विराटचोक तनावग्रस्त : हवाई फायर र अश्रुग्यास प्रहार, डीएसपी घाइते

शुक्रवार , बैशाख १२, २०८२

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशी घाइते भएका छन् । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मोरङको विराटचोक तनावग्रस्त बनेको थियो ।

सोही क्रममा ढुंगा लागेर डीएसपी जोशी घाइते भएका हुन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ना१क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार ११ बजेतिर ठक्कर दिएको थियो । घटनामा सुनसरीको दुहबी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँको मृत्यु भएको थियो ।

आक्रोशित आफन्त र सर्वसाधारणले घटनाको विरोधमा गरेको प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुन्दर हरैँचा नगरपालिका–१को विराटनगर–विराटचोक सडकखण्ड तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले नौ राउन्ड हवाईफायर र आठ सेल अश्रुग्यास प्रहार गरेको थियो ।‌ घटनास्थलमा रहेको टिपर हटाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएको थियो ।‌

प्रदर्शनकारीले मृतकको शव सडकबाट उठाउने क्रममा अवरोध गरेका थिए । मृतकका आक्रोशित आफन्त र सर्वसाधारणले शव सडकमा राखेर टिपरमा आगजनीको प्रयास समेत गरेका थिए ।

मृतकको शवलाई घटनास्थलबाट उठाएर शल्यपरीक्षणका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ । प्रहरीले टिपर चालक सुन्दरहरैँचा–१२ बस्ने २५ वर्षीय पवन योन्जनलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077