काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले ठूला दुई दलको संयुक्त सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई नभएको बताएका छन् ।
कांग्रेसको ओखलढुंगा–काठमाडौं उपत्यका सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा साउदले यस्तो बताएका हुन् ।
उनले भने,‘हामी दुई प्रमुख राजनीतिक पार्टीहरूको सरकार भएको हुनाले असफल बनाएर पठाउँछौँ भन्ने छुट हामीसँग छैन ।’
उनले शिक्षक, चिकित्सकहरूको जारी आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपर्ने बताएका थिए ।
अहिले चलिरहेका विभिन्न खालका आन्दोलनहरूले मुलुकको शान्ति, स्थिरता, समृद्धि र व्यवस्था दुश्चक्रमा पर्न सक्ने जोखिम देखिएको उनको भनाइ थियो ।
उनले दुई दल मिलेर सरकार बनिसकेपछि मुलुकले स्थिरता पाउने अपेक्षा गरिए पनि पूरा हुन नसकेको पनि बताए ।
पूर्वपरराष्ट्रमन्त्री साउदले पार्टीका नेताहरू सबैले आफ्नो जिम्मेवारी पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्ने पनि बताए ।