कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली भारत भ्रमणमा जाने भएको छ ।
मुख्यमन्त्री शाहले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मित्रराष्ट्र भारत सरकारको औपचारिक निमन्त्रणामा यही वैशाख १६ देखि २२ गतेसम्म भ्रमणमा जान लागेको जानकारी गराएका हुन् ।
मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का झपटबहादुर साउद, प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका प्रमुख सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय, स्वकीय सचिव रामबहादुर विष्ट सहभागी हुनेछन् ।
भ्रमण टोलीले प्रदेश सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका साथै ऊर्जा, पर्यटन, कृषिलगायत विषयमा भारतीय पक्षसँग छलफल गर्ने उनले जानकारी दिए ।
टोलीले भारतको दिल्ली, देहरादून, अयोध्या, लखनउलगायत ठाउँको भ्रमण गर्नेछ । भ्रमण तालिका अनुसार भ्रमण टोली पहिलो दिन काठमाडौंबाट हवाई मार्ग हुँदै दिल्ली पुग्नेछ । दिल्लीमा संघीय मन्त्रीसँग भेटवार्ता गरेपछि विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसनसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
त्यसपछि टोलीले भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, उत्तराखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग भेटवार्ता पश्चात उत्तर प्रदेशको राजधानी लखनउबाट स्थलमार्ग हुँदै कैलालीको धनगढी आइपुग्ने कार्यक्रम तय भएको मुख्यमन्त्री शाहले बताए ।