काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतको जम्मु कश्मीरस्थित पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत डा. कोइरालाले निर्दोष सर्वसाधारणमाथि लक्षित यो जघन्य आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति हार्दिक समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
'यो दुःखद घडीमा हामी भारत र भारतीय जनतासँग ऐक्यबद्धता व्यक्त गर्दछौं,' उनले भने,'कसैले, जहाँसुकै र जुन उद्देश्यका लागि गरे पनि आतङ्कवाद कहिल्यै उचित ठहरिन सक्दैन।'
उनले दक्षिण एशिया क्षेत्रीय शान्ति, सुरक्षा र समृद्धिको बाधकका रुपमा आतङ्कवादले लामो समयदेखि असर पारिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। साथै, आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेका परिवारप्रति पनि उनले समवेदना प्रकट गरेका छन्।