काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गरी आफ्नो बेड रुमसम्म बिचौलियाको पहुँच रहेको भन्ने प्रमाणित गर्न चुनौती दिएका छन्।
मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजशरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए।
एमाले र कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता भएको बताउँदै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको जिकिर गरे।
उनले भने–‘झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन। हामीले देश बर्बाद बनाइरहेका छौं, हामीले कुनै अपराध गरिरहेका छौं। आजकाल निलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेका छन्। तिनीहरूको वास्तविक रूप लामो समय टिक्ने छैन। एमालेले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौं। हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौं ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको टिप्पणी गरे।
यसअघि नेपाली कांग्रेसका महामन्त्री थापाले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको दावी गरेका थिए ।
बैशाख २ गते मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचौलियाहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताएका थिए।
उनले भनेका थिए–‘प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो । हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो । विचौलियाहरू म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ । विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।’