काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कनिका छरेजस्तो बजेट छुट्याउने भन्दा ठोस कार्ययोजना बनाउन सुझाव दिएकी छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा आइतबार काठमाडौंमा आयोजित 'आर्थिक वर्ष २०८२/८३ का लागि संघीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू' विषयक अन्तर्क्रियामा उनले यस्तो सुझाव दिएकी हुन् ।
कनिका छरेजस्तो गरी अनेक शीर्षकमा बजेट छुट्याउने भन्दा प्रत्यक्ष या अप्रत्यक्ष लाभ पुग्ने योजना र कार्यक्रमहरू तय गर्ने र तोकिएको समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउनुपर्नेमा उनको जोड थियो ।
सुदूरपश्चिमको प्रदेश मानव विकास सूचकांकमा सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने उनले बताइन् ।
मन्त्री राणाले भनिन्,‘प्रादेशिक तुलना गर्दा नेपालको मानव विकास सूचकांकमा सुदूरपश्चिम प्रदेश धेरै तल छ । मलाई लाग्छ हाल छैठौं स्थानमा रहेको अवस्थामा उल्लेख्य सुधार गरेर माथि ल्याउन सकिने गरी हामीले आगामी ओजना र कार्यक्रमहरू निर्माण गर्नुपर्छ ।’
कृषि, पर्यटन र पूर्वाधार निर्माण नै सुदूरपश्चिम क्षेत्रका प्रमुख प्राथमिकता हुनुपर्नेमा धारणा राखेकी मन्त्री राणाले कृषिजन्य उत्पादनलाई व्यावसायिक तथा आधुनिक कृषिसँग जोड्नुका साथै बजारीकरणमा विशेष ध्यान दिनुपर्ने बताइन् ।