काठमाडौं। आइतबार दिउँसो शिक्षक आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको दुबै आँखामा गहिरो चोट लागेको छ ।
अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका भइरहेको उनको उपचारमा संलग्न चिकित्सकका अनुसार चोटको कारणले गर्दा दुवै आँखाको लेन्सहरु सुन्निएको छ ।
उपचारमा संलग्न चिकित्सकले भनेको छन्–‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ ।’
चोटका कारण आँखामा रगत पनि जमेको छ । आँखाभित्र पनि रगत जमेकोले गर्दा भिजन कम रहेको चिकित्सकले बताएका छन् ।
रगत जमेको कम भएपछि मात्रै आँखाको भित्री अवस्था कस्तो छ भनेर हेर्न सकिने उपचारमा संलग्न डा. सिभान्त श्रेष्ठले जानकारी गराइन् ।
यद्यपी भिडियो एक्सरेबाट हेर्दा भने पर्दा च्यातिएको जस्तो नदेखिएको उनले बताइन् ।
रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो ।
लगत्तै सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले उनलाई बोकेरै अस्पतालतर्फ लगेका थिए ।
सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो ।
घाइते पत्रकार कार्कीले अस्पतालकै बेडबाट प्रहरीले हानेको पानीको फोहराले सुरुमै आफूलाई लागेको बताएकी छिन् ।
दाहिने आँखा हेर्नै नमिलेको भन्दै उनले भनेकी छन्–‘शिक्षकहरू नारा जुलुस गर्न लाग्नुभयो । शिक्षक आक्रोशित प्रहरीले पानीको फोहरा हान्न थाल्यो । क्यामेरा पर्सन भिडियो खिच्न लाग्नुभयो । म पनि छेउमा बसेर मोबाइल झिकेर भिडियो खिच्न लागेको थिएँ । पानीको फोहरा अनुहारमा लाग्यो । केही देख्न सकिनँ, चिच्च्याएँ । आत्तिएँ ।’
कार्की प्राइम टेलिभिजनकी पत्रकार हुन् ।