काठमाडौं । सर्वोच्च अदालतले जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई पक्राउ गर्नुको कारण पेश गर्न प्रहरीका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले यादवलाई पक्राउ गर्नुको कारण पेश गर्न जिल्ला प्रहरी परिसर, ललितपुर र जिल्ला अदालत ललितपुरका नाममा आदेश जारी गरेको हो ।
आफ्नो पतिलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै यादवकी पत्नी ललिता कुमारीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् ।
यादवलाई बैशाख ७ गते सप्तरी प्रहरीले पक्राउ गरेको थियो ।
यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ पूर्जी जारी भएपछि उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ललितपुरबाट प्राप्त पत्रको आधारमा उनलाई पक्राउ गरिएको हो ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि यादवमाथि आर्थिक अनियमितताको आरोप लगाएका थिए ।
जनमतका केन्द्रीय अनुशासन समितिले यादवमाथि ०८१ चैत २१ मा पार्टीलाई हिसाव नबुझाएको र रकम अनियमितता रहेकोसहितको आरोप लगाउँदै निलम्बन गरेको थियो ।