काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनामा “नेपाली कांग्रेसका सहमहामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट पारेको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं प्रहरीले यस्तो कुनै व्यक्ति नियन्त्रणमा नलिइएको र समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो ।
“यस परिसर वा मातहतका कार्यालयहरूबाट त्यस्तो कुनै व्यक्ति पक्राउ गरिएको भन्ने समाचारमा कुनै सत्यता छैन,” विज्ञप्तिमा भनिएको छ ।
तीनकुने घटनाबारे गलत सूचना फैलिएको भन्दै प्रहरीले यस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केही दिनअघि संसद बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनामा कांग्रेस सहमहामन्त्रीलाई पक्राउ गरेको तर कारबाही नगरी दबाबमा छोडिएको आरोप लगाएका थिए ।