काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशालाको उपकरण खरिदमा व्यापक अनियमितता भएको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले २१ करोड ८९ लाख ३९ हजार ७६० रुपैयाँ बिगो माग गर्दै तत्कालीन सचिव ईम नारायण श्रेष्ठसहित मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका तत्कालिन निर्देशक डा. श्रवण कुमार मिश्रसहित १५ जना कर्मचारी तथा हस्पिटेक इन्टरप्राइजेज प्रालि र सो कम्पनीका सञ्चालक विशाल पण्डितविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशका ७२ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्न उपकरण खरिद गर्दा सार्वजनिक खरिद ऐन र वित्तीय नियम उल्लङ्घन गरिएको, म्याद गुज्रिएका सामाग्री प्रयोग गरिएको र आवश्यकताभन्दा बढी क्षमताका उपकरण खरिद गरिएकोजस्ता गम्भीर अनियमितता देखिएको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार २५ करोड ३८ लाख ५३ हजार १२० रूपैयाँ बजेटको सार्वजनिक खरिद नियमावली, ऐन र आर्थिक कार्यविधिविपरीत खरिद कार्य गर्नु पूर्वतयारीको कार्य नगराई विश्लेषणसमेत नगरी ठेक्का आव्हान गरिएको अख्तियारले जनाएको छ ।
यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ठेक्का सम्झौता गर्ने हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितकी पत्नी सञ्चालक रहेको कस्तुरी ट्रेड लिंक प्रालि, काठमाडौं, ससुरा संस्थापक रहेको मेडी सोलुसन इन्टरनेशनल प्रालि, काठमाडौं र दाजुले बिक्री गरेको लाइफलाइन ट्रेड इन्टरनेशनल प्रालि, ललितपुरसँग दररेट लिई केही रकम मात्र फरक पारी, लागत अनुमान तयार गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामले बोलपत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक पण्डितसँगको मिलेमतोमा गैरकानूनी लाभ उठाउने बदनियतले पूर्व नियोजित योजना बमोजिम नै एउटै परिवार वा नातेदारहरु कै फर्मबाट दररेट लिएको देखिँदा स्वार्थ बाझिएको अख्तियारले जनाएको छ ।
यसैगरी आरोपपत्र दायर हुनेहरुमा मधेस प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालिन सचिव श्रेष्ठ, लेखा अधिकृत नबिन दास, तत्कालिन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्ति नारायण साह, प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका तत्कालिन निर्देशक डा. श्रवण कुमार मिश्र रहेका छन् ।
यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका वरिष्ठ ल्याव टेक्निेसियन निरीक्षक गुणानन्द प्रसाद साह, मेडिकल ल्याव टेक्नोलोजिष्ट मन मोहन मिश्र र ल्याव टेक्निसियन निरीक्षक राम उदगार यादव लगायतका व्यक्तिहरु रहेका छन् ।
आयोगले उनीहरूलाई भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरी बिगो असुल गर्न माग गरेको छ।