रौतहट । रौतहटमा टिकटक बनाउने बहानामा बोलाएर बालकको गोली हानी हत्या गरेको खुलेको छ ।
गत वैशाख ६ गते रौतहटको वृन्दावन नगरपालिका-७ का बालक कृष्णप्रसाद यादवलाई टिकटक बनाउने भन्दै मोबाइलमा फोन गरेर २५ वर्षीय नागेन्द्र सहनीले बोलाएका थिए ।
सोही क्रममा बालकलाई टिकटिक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्याई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीले हत्या गरेको आरोपमा संलग्न चारजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा २५ वर्षीय नागेन्द्र सहनी, साधु भनिने २२ वर्षीय अर्का व्यक्ति नागेन्द्र सहनी, विकास पटेल र अनिल साह रहेको रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए ।
पुरानो रिसिइबी साँध्न नागेन्द्रले बालक कृष्णलाई टिकटक बनाउने बाहनामा बोलाएर हत्या गरेको खुलेको उनले बताए ।
टिकटक बनाउने बहानामा कृष्णलाई बोलाएर छातीमा २ राउन्ड गोली हानेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।