Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

काठमाडौं प्रहरीले भन्यो– कांग्रेस नेताको छोरो पक्राउ परे भन्ने राजेन्द्र लिङ्देनको भनाईमा सत्यता छैन

काठमाडौं प्रहरीले भन्यो– कांग्रेस नेताको छोरो पक्राउ परे भन्ने राजेन्द्र लिङ्देनको भनाईमा सत्यता छैन

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत चैत १५ गते शुक्रबार तीनकुनेमा भएको घटनामा कांग्रेस सह–महामन्त्रीका छोरा पक्राउ परेको भनि आएका समाचारहरुमा सत्यता नभएको जनाएको छ ।

विभिन्न सञ्चार माध्यमहरुमा कांग्रेस सह–महामन्त्रीका छोरा पक्राउ गरी बिना कारबाही छोडिएको भन्नेबारे प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जिल्ला प्रहरी परिसर, काठमाडौंले उक्त कुरामा सत्यता नभएको बताएको हो ।

सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ–‘विभिन्न सञ्चार माध्यमहरुबाट तीनकुने घटनामा ‘नेपाली कांग्रेससका सह–महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको’ भन्ने प्रेषित समाचारहरुमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । यो सन्दर्भमा, त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोर सम्पूर्णमा जानकारी गराइन्छ ।’

चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुने–कोटेश्वर क्षेत्रमा प्रदर्शन भएको थियो। सो क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाट भएको थियो।

शुक्रबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि पक्राउ परेको बताएका थिए।

उनले भनेका थिए–‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ। किन तुरून्तै छोड्नुभयो ? तपाईंको नेताको छोराले रक्सी लिएर गयो। उसले ल्याएको मान्छेले रक्सी खान्न मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो। पछि भिडिओ हेरेर प्रहरीले पक्रियो। पक्रिँदा त नेताको छोरा रहेछ, नेताको छोरालाई छोड्नुभयो ल्याएको मानिस छुटेन। यो कुरा सार्वजनिक गरिदिन्छु भनेपछि दुई घन्टाभित्र तपाईंहरूले छोड्नुभयो, त्यस कारण त्यो सत्यतथ्य सार्वजनिक हुन जरूरी छ।’

लिङ्देनले संसद बैठकमै यस्तो बोलेपछि चारैतिर कांग्रेस महामन्त्रीको छोरा पक्राउ परेर छाडिएको समाचार आयो । तर, आइतबार जिल्ला प्रहरी परिसर, काठमाडौंले विज्ञप्ति जारी गर्दै यो कुरामा सत्यता नभएको बताएको हो। यद्यपी प्रहरीले जारी गरेको विज्ञप्तिमा राजेन्द्र लिङ्देनले बोलेको विषय भने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077