काठमाडौं । प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक दिपक थापाले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा चन्द्र कुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी रहेका छन् ।
उनीहरुलाई मन्त्रिपरिषद्को वैशाख १५ गतेको निर्णयअनुसार बढुवा गरिएको थियो । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

राष्ट्र, जनता र संगठन प्रति पुर्याएको योगदान, जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई संस्थागत विकास, सांगठनिक सुदृढिकरण तथा शुद्धिकरण र संगठनको वृहत्तर हितका लागि अझ बढी निष्पक्ष र पारदर्शी भई सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उनले व्यक्त गरे ।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङले सांगठनिक लक्ष्य र उद्देश्य प्राप्ति तथा संगठनको छवि उच्च बनाउन तोकिएको जिम्मेवारी पूर्ण व्यवसायिक निष्ठा र इमानदारीता एवम् लगनशीलताका साथ कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।