काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् ।
उनलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको छ ।
उनले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिने गरी प्रहरीलालई पत्र लेखेका थिए ।
यही पत्रका आधारमा प्रहरीले चौधरीलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको हो ।
२०८० जेठ १४ राष्ट्रपतिद्वारा दिइएको आममाफीको निर्णयविरुद्ध परेको रिट सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा विष्टले पत्र लेखेका हुन् ।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले भने सर्वोच्चको आदेश कार्यान्वयन गर्न चौधरीलाई पक्राउ गरिएको स्पष्टीकरण दिएको छ । पक्राउलगत्तै उनलाई डिल्लीबजार कारागारमा बुझाइएको थियो ।
यस्तो छ घटनाक्रम
सर्वोच्च अदालतको मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्ट आज बिहान आफैंले हस्ताक्षर गरेको एउटा पत्र बोकेर प्रहरी परिसमा पुगे । उक्त पत्रमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्कालै पक्राउ गरेर कारागारमा राख्न आदेश गरिएको थियो ।
टीकापुरमा पाशविक तवरबाट आठजना सुरक्षाकर्मी र एक नाबालकको हत्या गरिएको घटनाका मुख्य योजनाकार मानिएका व्यक्ति हुन् रेशम । यो मुद्दामा जिल्ला, उच्च हुँदै सर्वोच्चसम्मले उनलाई दोषी ठहर गरेका छन् ।
सर्वोच्चले २०८० साल जेठ २ गते अन्तिम फैसला गरेको थियो । फैसलामा रेशम चौधरीलाई दोषी ठहर गर्दै २० वर्षको जेल सजाय सुनाइयो । तर, सर्वोच्चको फैसलाको पूर्णपाठ समेत नआउँदै राष्ट्रपतिबाट उनले आममाफी पाए ।
२०८० साल जेठ १४ गते विवादितरुपमा आममाफी पाएको भोलिपल्ट रेशम जेलमुक्त भए । त्यसयता उनी फेरि राजनीतिमा सक्रिय छन् । आममाफीको विरुद्धमा जेठ १६ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । त्यसको छिनोफानो अझै भएको छैन ।
तर, आज अचानक रेशमलाई पक्राउ गरिएपछि ठूलो अन्योल उत्पन्न भयो । धेरैले उनको आममाफी बदर भएको अड्कल लगाए । प्रहरीले अदालतको आदेश कार्यान्वयन गर्न पक्राउ गरिएको प्रष्टीकरण दियो ।
रेशमको आममाफीविरुद्धको रिटमा अहिलेसम्म फैसला भएको छैन र यो बीचमा उनलाई फेरि पक्राउ गर्न अदालतबाट अर्को आदेश पनि भएको छैन ।