Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सरुवा भएका एसपीहरुलाई आईजीपीको निर्देशन - खरो रूपमा प्रस्तुत भई कार्यसम्पादन गर्नू

सरुवा भएका एसपीहरुलाई आईजीपीको निर्देशन - खरो रूपमा प्रस्तुत भई कार्यसम्पादन गर्नू

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।

हालै सरूवा तथा काज भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले यस्तो बताएका हुन् ।

उनले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिए ।

व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने उनको भनाइ छ ।

प्रहरी महानिरीक्षक थापाले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति विद्यमान सुरक्षा चुनौतिहरूको अध्ययन विश्लेषण गरी आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी प्रहरी कर्मचारीहरूको मनोबल बढाई प्रभावकारी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक थापाले सेवा प्रवाहमा प्रहरी कर्मचारीहरू सहनशील भई आचरण, बोली, व्यवहार शिष्ट र सभ्य हुनुपर्ने बताउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्ग पीडित हुने मुद्दाहरूलाई प्राथमिकतामा राखि समाजमा चुनौतिको रूपमा देखा परेका साइबर क्राइम, बैंकिङ कसुर, आत्महत्या, लागूऔषध लगायतका अपराधहरूको नियन्त्रणमा विशेष कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।

सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने बताउँदै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्य गर्न उनले निर्देशन दिए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितका साथै काठमाडौं उपत्यका बाहिर कार्यरत प्रहरी उपरीक्षकहरूको समेत भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077