काठमाडौं । भारतको विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाहको मृत्युका दोषीलाई कारबाही गर्न माग गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै एबीभीपीले केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भनेको हो । साथै घटनालाई अत्यन्त पीडादायी भनिएको छ ।
एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको छ ।
केआईआईटी विश्वविद्यालयको प्रशासन र जिम्मेवार अधिकारीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ ।
केआईआईटीमा पहिलो वर्षको दोस्रो सेमेस्टर अध्ययनरत वीरगन्जकी प्रिशा बिहीबार साँझ ८ बजे मृत फेला परेकी थिइन् । कलेजको होस्टलमा उनलाई झुण्डिएको अवस्थामा मृत फेला पारिएको थियो ।
यसबारे प्रिशाका आमाबाबुलाई पनि जानकारी गराइएको छ । उनीहरू शुक्रबार भुवनेश्वर पुग्नेछन् । यसपछि मात्र पोस्टमार्टम गरिनेछ ।
यसअघि फेब्रुअरीमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालले पनि आत्महत्या गरेकी थिइन्।