काठमाडौं । सशस्त्र प्रहरी बलमा २ बैशाखदेखि रिक्त रहेको एआईजी पदमा अझै बढुवाको प्रक्रिया सुरु गरिएको छैन । एक पदको बढुवामा चार डीआईजीबीच प्रतिस्पर्धा भएकाले सरकारले बढुवा गर्न नसकेको हो ।
बढुवाका लागि डीआईजीहरू नेतामात्र होइन व्यापारी र तस्करसँग समेत साँठगाँठ गरिरहेका छन् । बढुवाका दाबेदार रहेका डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी अफिसको कामै छाडेर हरेक दिन भेटघाटमा दौडने गरेका छन् ।
डीआईजी कमल गिरी पूर्वराष्ट्रपति विद्या भण्डारीमार्फत प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् । पूर्वका कांग्रेस नेताको घरमा पनि उनको दौडधुप बढेको छ ।
गणेश ठाडा पछिल्लो समय वीरगञ्जका व्यापारी अनिल रुंगटामार्फत चलखेलमा लागेका छन् । रुंगटा आरजु देउवा निकट मानिन्छन् ।
रुंगटा वीरगञ्जमा संगठित तस्करी चलाउने व्यापारीका रुपमा चिनिन्छन् । शम्भु सुवेदी कांग्रेस नेता कृष्ण सिटौलादेखि पूर्वमुख्यमन्त्री उद्धव थापामार्फत दबाब दिइरहेका छन् । सुवेदी हालै पूर्वक्षेत्रबाट अकुत कमाएर फर्किएका छन् ।
उनी शान्ति मिसनमा हुँदा आचरणबिपरीत क्रियाकलापमा मुछिएपछि बढुवामा पछि परेका थिए । कुलबहादुर नेम्वाङ भने कांग्रेस–एमालेका जनजाति नेतामार्फत दबाब दिइरहेका छन् ।
कतिपय डीआईजी तराईका तस्करहरूसँग पैसा लिएर समेत बढुवाको दौडधुपमा लागेका छन् । अहिले एआईजी हुने दुई वर्षपछि आईजीपी हुने सम्भावना छ । तर, बढुवा नहुनेहरु डीआईजीबाटै अवकाश पाउने जोखिम छ ।
त्यसकारण एआईजीको एक दरबन्दी थपेर दुई जनालाई बढुवा गर्नेबारे पनि छलफल भइरहेको स्रोत बताउँछ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि सशस्त्र प्रहरी एकेडेमीमा एआईजीको दरबन्दी थप्न प्रस्ताव गरेका छन् ।