काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यहीन भएको टिप्पणी गरेका छन् ।
शुक्रबार सरकारले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिने क्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सो टिप्पणी गरेका हुन् ।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यहीन र निराश बनाउने खालको भएको बताए । सरकारको नीति तथा कार्यक्रमबाट आगामी बजेट पनि गन्तव्यहीन आउने आशंका देखिएको उनको भनाइ छ ।
'राष्ट्र प्रमुखले गर्ने सम्बोधन प्रधानमन्त्री र सरकारको कार्यक्रम भएको हुनाले त्यसमा साह्रै अमूर्त, गन्तव्यहीन र निराश खालको भयो । यसले आगामी बजेट पनि यस्तै गन्तव्यहीन आउँछ भन्ने आशंका देखाएको छ,' उनले भने ।