'महिला उपसभापतितर्फ सोबिता गौतम र डा. तोसिमा कार्कीको उम्मेदवारी'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भएको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार बिहान उपसभापति, महामन्त्री र सह–महामन्त्रीका विभिन्न क्लस्टरका लागि उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको हो।
जसअनुसार उपसभापति (महिला) मा दुई जनाको उम्मेदवारी परेको छ । सोबिता गौतम र डा. तोसिमा कार्कीले उपसभापति (महिला) मा उम्मेदवारी दिँदा समीक्षा बास्कोटा भने पछि हटेकी छिन् ।
यसैगरी महामन्त्रीमा १० जनाको उम्मेदवारी परेको छ । एक जना निर्वाचित हुने महामन्त्रीका लागि कवीन्द्र बुर्लाकोटी, मनिष झा, सागर ढकाल, विपिनकुमार आचार्य, राजुनाथ पाण्डे, जगदीश खरेल (ललितपुर), रन्जु दर्शना, प्रमोद न्यौपाने, गणेश कार्की र गणेश पराजुलीले
दुई जना निर्वाचित हुने सह–महामन्त्री (खुला) का लागि ११ जनाले उम्मेदवारी दिएका छन् । यो पदमा सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने र हिमेष पन्तले उम्मेदवारी दिएका छन् ।
यसैगरी, एक जना निर्वाचित हुने सह–महामन्त्री (महिला) का लागि कामिनीकुमारी चौधरी, निशा डाँगी, जुली यादव, जमुना शर्मा (विदुषी) र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
रास्वपाको पुरुष उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् ।
पहिलो चरणबाट केन्द्रीय सदस्यहरूको टुंगो लागिसकेपछि पार्टीको माथिल्लो नेतृत्व तह अर्थात् पदाधिकारी चयनका लागि यो दोस्रो चरणको निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो ।
सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध चयन भइसकेका छन् भने वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई मनोनीत गरिने तयारी छ ।
यसैगरी प्रथम महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि मत परिणाम सार्वजनिक भइसकेको छ ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता तथा छानबिनको प्राविधिक कार्य सकिएलगत्तै अन्तिम नामावली प्रकाशन गरेर बन्दसत्रमा मतदानको व्यवस्था मिलाउने तयारी गरिरहेको जनाएको छ ।
रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा जारी छ ।