काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ ।
पार्टीको निर्वाचन आयोगले निर्वाचित भएका सबै ९९ जना केन्द्रीय सदस्यको अन्तिम सूची शुक्रबार सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजाअनुसार स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले प्रवास र विद्युतीय (इलेक्ट्रोनिक) मतदानसहित कुल २ हजार ६५६ मत प्राप्त गरेका छन्, जुन सबै उम्मेदवारमध्ये सबैभन्दा बढी हो।
रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि भएको निर्वाचनमा विभिन्न समूह र क्लस्टरबाट सदस्यहरू निर्वाचित भएका हुन् । निर्वाचन आयोगले सबै ९९ जना विजयी उम्मेदवारको नामावलीसहित अन्तिम मतपरिणाम सार्वजनिक गरेसँगै केन्द्रीय सदस्य चयन प्रक्रिया टुंगिएको छ।
यद्यपि, महाधिवेशनका केही अन्य पदहरूको निर्वाचन प्रक्रिया भने अझै जारी छ।






