Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

२० वर्ष लामो प्रयासपछि नेपाल प्रहरीमा सुरु भयो स्टाफ कलेज

२० वर्ष लामो प्रयासपछि नेपाल प्रहरीमा सुरु भयो स्टाफ कलेज

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । नेपाल प्रहरीमा स्टाफ एन्ड कमान्ड कोर्स सुरु भएको छ। गृहमन्त्री रमेश लेखकले आइतबार कोर्सको उद्घाटन गरेका छन्।

उच्च तहका अधिकृतहरूको पदोन्नति र नेतृत्व विकास प्रणाली व्यवस्थित एवं प्रभावकारी बनाउन यस्तो कोर्स सुरु गरिएको प्रहरीले जनाएको छ। स्टाफ कलेजको पहिलो ब्याचका लागि १७ डिएसपी छनोट भएका छन्।

करिब २० वर्ष लामो प्रयासपछि प्रहरीमा स्टाफ एन्ड कमान्ड कोर्स सुरु भएको हो ।

गत ११ पुसमा बसेको पुलिस लिडरसिप एन्ड स्टाफ कलेजको व्यवस्थापन समितिको बैठकले पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स कार्यप्रणाली–२०८१ र पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स प्रवेश परीक्षा कार्यादेश–२०८१ स्वीकृत गरेको थियो । त्यससँगै यसको कार्यान्वयन अघि बढेको हो ।

अब उच्च पदमा बढुवा हुन कलेजको कोर्स अनिवार्य हुनेछ, जसले बढुवा पारदर्शी र अनुमानयोग्य बनाउने प्रहरी अधिकारी बताउँछन् । यस्तो कोर्स नगर्ने एसपी र एसएसपीलाई बढुवाको दोस्रो सूचीमा राखिने र त्यसभन्दा माथि बढुवा नहुने संसदमा रहेको प्रहरी ऐनको विधेयकमा उल्लेख छ ।

कोर्स लिएका अधिकारीहरूलाई प्रहरी सेवामा गुणात्मक सुधार गर्न, रणनीतिक सोचको विकास लिन र निर्णय क्षमतामा वृद्धि गर्न सहयोग पुग्ने बताइएको छ ।

२०७० सालको चैतमा भर्ना भएका प्रहरी निरीक्षक आधारभूत तालिमको १५८ तथा पिजी सातौँ ब्याचबाट स्टाफ कलेज लागू गर्ने निर्णय प्रहरीले गरेको छ ।

२० वर्ष अघिदेखि नै प्रहरीमा यस्तो स्टाफ कलेज लागू गर्न छलफल हुँदै आएको थियो । अब यो कोर्स महाराजगन्जस्थित नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमातहत हुनेछ ।

अघिल्लो वर्षको असारमै लिडरसिप एन्ड स्टाफ कलेजको कार्यालय स्थापना गरी तयारी अघि बढाइएको थियो । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायसँगको सहकार्यमा यस्तो कोर्स सञ्चालन हुन लागेको हो ।

यसलाई मास्टर इन पुलिस साइन्ससमेत भनिएको छ । यो कोर्सले प्रहरी अधिकारी थप खारिने भएकाले पुलिसिङमा पनि यसको सकारात्मक प्रभाव देखिने प्रहरी अधिकारी बताउँछन् ।

स्टाफ कलेजमा एक वर्षका लागि प्रहरी संगठनका ३५ जना र बाहिरका लागि पाँचजनाको कोटा राखिए पनि थोरै मात्र प्रबेश परीक्षामा सफल भएका छन्।

विदेशका सुरक्षा अधिकारीका साथै सशस्त्र प्रहरी तथा नेपाली सेनाका केही अधिकृतलाई पनि पढाउन सकिने गरी पाँचजनाको कोटा राखिएको छ ।एकजनाले बढीमा तीनपटकसम्म प्रवेश परीक्षा दिन पाइने प्रावधान पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स प्रवेश परीक्षा कार्यादेश २०८१ मा उल्लेख छ ।

तर, शान्ति मिसनमा रहेको, अस्वस्थ, गर्भवती तथा संगठनको काम गर्ने क्रममा घाइते भएर कोर्समा सहभागी हुन नसक्ने अवस्था, तीन महिनाभन्दा लामो वैदेशिक तालिममा रहेको अवस्थामा थप अर्कोपटक प्रवेश परीक्षामा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

प्रहरी प्रधान कार्यालयले स्टाफ कलेज लागू गरेसँगै पोस्ट ग्य्राजुयट इन पुलिस साइन्स (पिजिडिपिएस) विस्थापन गर्ने योजना थियो ।

प्रहरी निरीक्षकको आधारभूत तालिममा यो कोर्स अनिवार्य गरिएको छ । तर, यसको प्रभाव मूल्यांकन गरेर मात्र कोर्स हटाउने–नहटाउने निर्णय प्रहरी प्रधान कार्यालयले गरेको छ ।

चार सेमेस्टर र कोर्सको अवधि १४ महिनाको बनाइएको छ । अन्तिम सेमेस्टरमा प्रहरी अधिकारीले कार्यक्षेत्रमै गएर थेसिस लेख्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077