काठमाडौं । आइतबार गृह मन्त्रालयले सात डीआईजीको सरुवा गरेपनि दुई महिनादेखि रिक्त रहेको कर्णाली प्रदेशमा भने डीआईजी पठाउन सकेन ।
गृहमन्त्रालयले आइतबार गरेको निर्णय अनुसार कोशीमा ईश्वर कार्की, मधेसमा उमाप्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश आचार्य, लुम्बिनीमा राजेन्द्र भट्ट र सुदुरपश्चिममा डम्बरबहादुर विकको सरुवा भएको छ ।
त्यस्तै गोबिन्द थपलियालाई केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाट पठाइएको छ । तर, दुई महिनादेखि रिक्त रहेको कर्णाली प्रदेशमा गृहले कुनै पनि डीआईजीलाई पठाउन सकेन ।
आइतबार सात जना डीआईजीको सरुवा हुँदा कर्णाली बाहेक ६ प्रदेशका प्रहरी प्रमुख हेरफेर भए ।
कर्णाली प्रदेशका डीआईजी जनक भट्टराई २२ फागुनमा एआईजीमा बढुवा भएका थिए । एआईजी भएका उनले चैत ४ गते नै अवकाश पाइसकेका छन् । तर, उनी बढुवा भएसँगै रिक्त रहेको कर्णाली प्रदेश अहिले पनि डीआईजीविहिन छ ।
उनको बढुवासँगै विगत दुई महिनादेखि कर्णाली प्रदेशको कमाण्ड एसएसपी शिवकुमार श्रेष्ठले गरिरहेका छन् ।
यहीबीचमा गृहले आइतबार सात डीआईजीको सरुवा गर्दा पनि कर्णाली प्रदेश भने कसैको रोजाईमा परेन ।
मधेश, कोशी र लुम्बिनी प्रदेशमा जान डीआईजीहरुले चर्को लबिइङ गरेपछि कर्णालीमा कसैले चासो नदेखाउँदा दुइमहिनादेखि प्रदेश निमित्तको भरमा छ ।
यस्तो अवस्थामा पनि गृह मन्त्रालयले कसैलाई पठाउन नसक्नु मन्त्रालयकै कमजोरी भएको एक पूर्व एआईजी बताउँछन् ।