काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
सरकारी रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय बाणिज्य बैकका सहायक प्रवन्धकसहित तीन जनाविरुद्ध विशेष अदालतले गरेको फैसला उपर आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।
आयोगका अनुसार उनीहरुले विद्यालयको नाममा रहेको ५ लाख ६० हजार हिनामिना गरेका थिए ।
आयोगले राष्ट्रिय बाणिज्य बैकंको शाखा कार्यालय ईनरुवा सुनसरी शाखामा कार्यरत सहायक प्रवन्धक तारणीप्रसाद खतीवडा, सुनसरीको नरसिंह–५ स्थित श्री प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यापक (हाल अवकास प्राप्त) सिद्धिनाथ लाल दास, महावीर प्राथमिक विद्यालय, वविया गाउँ विकास समिति वडा नम्वर –९ सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक मनोज कुमार चौधरीविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
उनीहरुमाथि चपडाही निम्न माध्यमिक विद्यालयको नाममा रहेको बाणिज्य बैंकको दस्तखत नमुना कार्ड परिवर्तन गरेर ५ लाख ६० हजार निकालेर हिनामिना गरेको आयोगको आरोप छ ।
आयोगका अनुसार उनीहरुले बाणिज्य बैकंमा रहेको खातावालाको नाम परिवर्तन गरि खातामा रहेको रकम अपचलन गर्ने उद्देश्यले जिल्ला शिक्षा कार्यालय सुनसरीको लेटरप्याड तथा छाप र बैकं खातामा रहेको दस्तखत कीर्ते गरि रकम हिनामिना गरेका थिए ।
आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (११) र (१७) बमोजिम २०७८ चैतमा बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले २०८१ वैशाख २४ गते गरेको फैसलामा उनीहरुलाई आंसिक सफाई दिएको भन्दै आयेगले आज सवोच्चमा पुनरावेदन गरेको हो ।