काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको छ ।
प्रहरी हिरासतमा रहेका प्रसाईमाथि सीआईबीले दुवै कसुरमा अनुसन्धान थालेसँगै सोमबारदेखि बयान लिन पनि सुरु गरेको हो ।
प्रसाईं चैत १५ को तीनकुने घटनाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । परिसरबाट झिकाएर सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर प्रारम्भिक बयान सुरु गरेको हो ।
उनीविरुद्ध सीआईबीले उच्च अदालत पाटनबाट पक्राउ पुर्जी लिएको थियो । प्रसाईंविरुद्ध सम्पत्ति शुद्धीकरण, राष्ट्र बैंक ऐन र त्यससँग सम्बद्ध बैंकिङ कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
उनले विभिन्न बैंकबाट करिब ५ अर्ब ऋण लिएका छन् । तर उनले जुन प्रयोजनका लागि ऋण लिएका हुन् त्यसविपरीत प्रयोग गरेर बैंकिङ कसुर गरेको अनुसन्धानबाट खुलेको सीआईबीको दाबी छ ।