कैलाली । कैलालीबाट स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्रोत नखुलेको रकमसहित भारतको उत्तर प्रदेश लख्खीमपुर खिरी तिकुनिया बस्ने ३२ वर्षीय अमन कुमार गर्ग र टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने अर्मन चौधरी पक्राउ परेका हुन् ।
भजनी नगरपालिका-५ गुलरीया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रुपैयाँसहित भारतीय गर्ग पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले युपि ३२ एचएच ६७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सत्ती पठाएको प्रहरीले जनाएको छ ।
यसैगरी टीकापुरका चौधरीलाई पनि स्रोत नखुलेको नगद ५ लाख ३१ हजार ४ सय भारतीय रुपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। उनलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुर, बाँकी पठाइएको कैलाली प्रहरीले जनाएको छ ।