काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर विनोद पुनलगायत प्रतिवादीविरुद्ध विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
शारदा नगरपालिका–१५ को सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माणमा सम्झौताअनुसार काम नभएको भन्दै आयोगले इञ्जिनियर पुनविरुद्ध रु। सात लाख १४ हजार ४१ को बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। विशेष अदालतले सफाइ दिएपछि आयोगले मंगलबार सर्वोच्चमा पुनरावेदन गरेको हो।
यसैबीच, आयोगले बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्करकुमार सिंह, नेपाल मिडिया हाउस प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक नवराज निरौलासहित तीन जना र उक्त हाउसविरुद्ध गैरकानुनी लाभ लिएर राज्यलाई हानि पुर्याएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
फेटा गाउँपालिकामा विद्युत् पोल गाड्ने र तार तान्ने कामका लागि खरिद प्रक्रियाको बोलपत्र आह्वान सूचनामा झुठा विवरण पेश गरी भुक्तानी लिने र दिने दुवैलाई विपक्षी बनाएर मंगलबार आरोपपत्र दायर गरिएको छ ।