काठमाडौं । इजरायल-हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेको प्रमाण नभेटिएको दाबी गरिएको छ ।
इजरायली अधिकारीले उनी ‘जीवित रहेको कुनै संकेत नपाइएको’ द टाईम्स अफ इजरायलमा प्रकाशित समाचारमा उल्लेख छ ।
'युद्ध सुरु भएको केही समयपछिदेखि तीन जना बन्धकहरू जीवित भएको कुनै संकेत प्राप्त भएको छैन,' समाचारमा एक अधिकारीले भनेका छन्, 'दुई जना विदेशी नागरिक हुन् र एक जना इजरायली हुन् ।'
ती अधिकारीका अनुसार जीवितको कुनै संकेत नपाएको भए पनि यी दुई विदेशी बन्धकहरूलाई आधिकारिक रूपमा मृत घोषित भने गरिएको छैन। यसरी जीवितै रहेको प्रमाण नभेटिनेमा नेपालका विपिन जोशी र थाइल्याण्डका पिन्टा नट्टापोङ रहेको समाचारमा भनिएको छ।
बुधबार मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको बताउँदै तीन जना बन्धक जीवितै रहेकोमा आशंका रहेको जानकारी दिएका थिए।