कैलाली । कैलालीका विभिन्न सीमावर्ती नाकाहरूबाट तस्करी मौलाएको आरोप लागेको छ ।
नेपाल पत्रकार महासंघ, कैलालीमा पठाइएको उजुरीमा सीमावर्ती नाकाहरू हुँदै चिनी, मल, गन्नालगायतका सामग्रीको व्यापक तस्करी भइरहेको दाबी गरिएको हो ।
‘राम सिंह’ नाम उल्लेख गरिएको उजुरीमा प्रहरी, सशस्त्र प्रहरी र सुराकी टोलीहरू स्वयं तस्करीको संरक्षणमा संलग्न भएको गम्भीर आरोप लगाइएको छ ।
उक्त उजुरीमा भजनी, टिकापुर, हँसुलिया, फूलबारी, जुगेडा, नल्का घाट, डोकेबजार, त्रिभुवन बस्ती, बेलौरी र भुडा जस्ता प्रमुख सीमावर्ती नाकाहरू रातारात तस्करीका केन्द्र बनेको उल्लेख छ ।
यिनै नाकाबाट दैनिक लाखौं रुपैयाँ बराबरको सामग्री भारतबाट नेपाल भित्र्याउने र त्यसबापत सुरक्षाकर्मीले व्यापारीहरूसँग मिलेमतोमा मासिक लाखौं रकम असुल गर्ने गरेको उजुरीमा दाबी गरिएको छ ।
सादा पोशाकमा खटिएका प्रहरी, ब्यूरो इन्चार्ज, सिभिल इन्चार्ज तथा टाइगर टोलीहरूले 'हाकिमलाई गुमराहमा राखी' तस्करीलाई खुला मार्ग दिएको र सोही माध्यमबाट लाभ लिइरहेको उजुरीकर्ताको आरोप छ ।
पत्रकार महासंघमार्फत दर्ता गरिएको उजुरीमा तस्करीमा संलग्न सम्पूर्ण पक्षको तत्काल निष्पक्ष छानबिन गरी कारबाही गर्न संघीय सरकार, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
यसअघि पनि पत्रकार महासंघ कैलालीमा घुमुवा प्रहरीविरुद्ध बेनामे उजुरी पर्दै आएका थिए ।