काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएकी छन् ।
नेपाल प्रेस युनियनद्वारा शनिवार ललितपुरमा आयोजित लोमान्थाङ इन्टरनेसनल मिडिया समिटलाई सम्बोधन गर्दै मन्त्री देउवाले यस्तो बताएकी हुन् । उनले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका पहरेदार रहेको बताइन् ।
‘स्वतन्त्र प्रेसले नै प्रजातान्त्रिक शासन व्यवस्थाको पहरेदारी गर्न सक्दछ,’ उनले भनिन्, ‘त्यसैले प्रेस स्वतन्त्रता बिनाको प्रजातन्त्र कल्पना गर्न सकिँदैन ।’ उनले नागरिकको वाक तथा अभिव्यक्ति एवं प्रेस स्वतन्त्रता अहिलेको युगमा झन् अत्यावश्क र महत्वपूर्ण रहेको बताउँदै यही बाटो भएर मात्र लोकतान्त्रिक, समुन्नत र समावेशी समाज निर्माण गर्न सकिने तर्क गरिन्।
नेपालको वर्तमान संविधानले मौलिक हक अन्तर्गत मात्र नभएर प्रस्तावनामा नै प्रेस स्वतन्त्रताको व्यवस्था गरेको उनले बताइन् ।
‘सरकार सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ । नेपालको वर्तमान संविधानले मौलिक हक अन्तर्गत मात्र नभएर प्रस्तावनामा नै प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । यसबाट पनि नेपालको प्रतिबद्धता स्पष्ट रुपमा झल्किन्छ,’ मन्त्री देउवाले भनिन्।
लोकतन्त्रले अहिले विविध खाले चुनौतीहरूको सामना गरिरहेको र जसका कारण मुलुकका लोकतान्त्रिक संस्थाहरूप्रतिको विश्वास घट्दो देखिएको बताउँदै उनले यस्तो अवस्थामा लोकतन्त्र एवं नागरिक स्वतन्त्रताप्रति जनताको आशा जगाउने काममा प्रेसको महत्वपूर्ण भूमिका रहने बताइन्।