काठमाडौं । तातोपानी सुख्खा बन्दरगाहस्थित भन्सार कार्यालयले तस्करलाई भन्सारको गोदाम जिम्मा दिँदा 'भेप' चोरी भएको आरोप लागेको छ ।
गोदामको जिम्मा पाएको ट्रान्स सिल्क टर्मिनल प्रालि र त्यसका लगानीकर्ता सिल्क ट्रान्सपोर्टका सञ्चालक रमेश शेर्पामाथि ३६ कार्टुन विद्युतीय चुरोट (भेप) चोरी योजनामा संलग्न भएको आरोप लागेको हो ।
इन्टरमोडल यातायात विकास समितिले २०७९ भदौ ३१ गतेदेखि गोदामको जिम्मा ट्रान्स सिल्क टर्मिनललाई दिएको थियो ।
घटनास्थलको पछाडिपट्टी बनाइएको सटरबाट भेप चोरी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। सूचना अधिकारी सूर्य काफ्लेका अनुसार उक्त सटर गोदाम विस्तारको तयारीस्वरूप बनाइएको हुनसक्ने बताएका छन् ।
भन्सार प्रमुख कमलकुमार भट्टराईसँगको सेटिङमै सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पाले उक्त भेप चोरी गराए पनि निरीह सुरक्षागार्डसहित चार जनालाई पक्राउ गरी सामसुम पार्न खोजिएको छ ।
सिल्क ट्रान्सपोर्टकै संचालकले गोदामको तालाचावी लिएको अवस्थामा उसको मिलेमतोविना भेप चोरी हुने कुरा कल्पना पनि गर्न नसकिने स्रोत बताउँछ । यो घटनापछि भन्सार प्रमुख भट्टराईलाई अर्थ मन्त्रालयले तानेर अनुसन्धान थालिसकेको छ ।
सिल्ककै योजनामा भेप चोरिएको तर चोरी आरोपमा भन्सारका एक सुरक्षाकर्मी, अपरेटर र दुई स्थानीय नियन्त्रणमा लिएर यो काण्डमा रमेश शेर्पालाई फेरि पनि उन्मुक्ति दिन लागिएको आशंका गरिएको छ । गोदामको पछाडि सटर बनाइएको र त्यहीँबाट भेप चोरी भएको थियो ।
उक्त तस्करीको भेप सिल्क ट्रान्सपोर्टकै रमेश शेर्पा र त्रिभुवन साह भन्ने पवनकुमार साहको भएको स्रोतको दाबी छ । गोदामको पछाडिपट्टि सटर राखिएकोबारेमा तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्य काफ्लेले गोदाम विस्तारका लागि त्यो सटर राखिएको हो जस्तो आफूलाई लागेको बताए ।
कोरोना महामारीमा सिल्क ट्रान्सपोर्टका कन्टेनरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीकै स्कर्टिङमा सुन तस्करी भएको आरोप लागेको थियो । लसुन आयात गरेको भनी ती कन्टेनरमा सुन ल्याइएको समाचार र भिडियो नै सार्वजनिक भएको थियो ।
त्यसैगरी, रमेश शेर्पा र पवनकुमार साहको इमाडोलस्थित गोदामबाट गएको पुस २३ गते राजस्व अनुसन्धान बिभागले करिब ५० करोड रुपैयाँ बराबरको ५ सय कार्टुन भेप बरामद गरेको थियो । तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर र बस्नेतको दबाबमा रमेश शेर्पा र पवनकुमार साहलाई मुद्दा नचलाई भरियालाई मात्र चलाई जोगाइएको छ ।
तातोपानी भन्सारले बरामद गरी गोदाममा राखेको भेप समेत उनीहरुकै शेर्पा र साहकै भएकाले उनले भन्सार प्रमुखसँग सेटिङमै चोरी गरी लगेको स्रोतको दाबी छ । प्रहरीले साना कर्मचारीलाई मात्र नियन्त्रणमा लिई मुख्य योजनाकारहरूलाई उन्मुक्ति दिन खोजिएको आशंका उठाइएको छ ।