लमजुङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल लमजुङको अधिवेशनमा शनिबार भएको झडपपछि खुकुरी प्रहारबाट चार जना घाइते भएका छन् ।
तर, पीडित पक्षले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय लमजुङले अहिलेसम्म दर्ता गरेको छैन । राजनीतिक तहबाट दबाब परेपछि प्रहरीले जाहेरी दर्तामा आनाकानी गरेको आरोप लागेको हो ।
लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको थियो ।
घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहेका छन् ।
उनीहरुमाथि गण्डकी प्रदेश सरकारका दुईमन्त्री कै सामुन्ने खुकुरी प्रहार भएको थियो । तर घटना भएको २४ घण्टा पुग्दा पनि प्रहरीले जाहेरी लिन नमानेको पीडितहरुले आरोप लगाएका छन् ।
पीडितहरुले खुकुरी प्रहार गर्नेमाथि ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दिएका छन् । तर प्रहरीले दर्ता गर्न मानेको छैन् । यसले प्रहरीमाथि आशंका बढेको छ ।
शनिबार अधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षबीच खुकुरी हानाहान भएको हो ।
अधिवेशन उदघाटन समारोहमा गण्डकी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल र अर्थमन्त्री टकराज गुरुङ सहभागी थिए । उनीहरुकै अगाडि देउवा पक्ष र कोइराला पक्षका युवाहरुबीच खुकुरी हानाहान भएको हो ।
मन्त्री भेषबहादुर शेखर पक्षका नेता हुन् । अधिवेशनमा देउवा पक्षले एकलौटी रुपमा नेतृत्व छान्ने प्रयास गरेपछि खुकुरी हानाहान भएको बताइएको छ । देउवा पक्षले पेलेरै लगेपछि कोइराला पक्षले विरोध जनाएको थियो । त्यसपछि देउवा पक्षका युवाहरुले खुकुरी प्रहार गरेका थिए ।
देउवा पक्षका धनबहादुर तामाङले एक्कासी खुकुरी आतंक मच्चाएका थिए । तरुण दल लमजुङका कार्यवाहक अध्यक्ष भुपेश गुरुङको उक्साहटमा लागेर धनबहादुरले खुकुरी आतंक मच्चाएका हुन् । भुपेश पनि देउवा पक्ष तथा टकराजका नजिकका नेता हुन् ।
कार्यक्रमा तरुण दलका अध्यक्ष विद्धान गुरुङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत अतिथिका रुपमा केन्द्रबाट सहभागी थिए ।
दुई मन्त्रीकै सामुन्ने तरुण दलको अधिवेशनमा खुकुरी हानाहान भयो । आफ्नै समूहरुका कार्यकर्तालाई खुकुरी प्रहार हुँदा पनि निरीह बनेका थिए कोइराला पक्षका भेषबहादुर पौडेल ।
खुकुरी हानाहानबाट गम्भीर घाइते भएका सुदीप अधिकारीलाई चितवन मेडिकल कलेजमा उपचारार्थ लगिएको छ । तर खुकुरी प्रहार गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । लमजुङका डीएसपी रेशम बोहराले अधिकारीमाथि खुकुरी प्रहार गर्नेलाई पक्राउ नगरेको आरोप कोइरालापक्षीय तरुण दलका नेताहरुको आरोप छ ।