काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट लागेर मृत्यु भएका उपेश नेपालीको विषयमा कुरो उठाइएको छ ।
प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका उपेश नेपालीको शनिबार धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विषय उठाएका हुन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा काभ्रेका सांसद सूर्यमान दोङ तामाङ, रास्वपा सांसद शिव नेपाली, सहराज अहमत फारुकी पोलमा करेन्ट लागेर मृत्यु भएको विषयमा छानबिन गर्न माग गरे । उनीहरूले यो घटना मृत्यु भएको नभई हत्या भएको बताउँदै छानबिन गर्न माग गरे ।
‘हिजो काभ्रेमा एकजना मजदुरको ज्यान गएको छ, विद्युत प्राधिकरणको जिल्ला कार्यालयले बिजुली बन्द गरेको सूचना दिए पनि अर्को सूचना नदिई बिजुली सप्लाइ गर्दा काम गरिरहेका मजदुरको ज्यान गयो,’ सांसद् तामाङले भने–‘विद्युत प्राधिकरणको गैरजिम्मेवारीले एक मजदुरले ज्यान गुमाए । यसको सत्यतथ्य जाँच होस् ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले घटनाको छानविन गरी कारबाही गर्न माग गरे । ‘बिजुलीको पोलमा सुरक्षाका उपकरण बिना नै धेरै श्रमिकलाई खटाउने गरेकाले धेरैले ज्यान गुमाएका छन् । शनिबार काभ्रेमा त्यस्तै भयो । कुनै पनि सूचना नदिई प्राधिकरणले विजुली छोड्दा उनको ज्यान गयो । यो ज्यान प्राधिकरणले लिएको हो । तत्काल यसको छानबिन गरियास्,’ सांसद नेपालीले भने । उनले मृतक मजदुरका परिवारलाई राहत र क्षतिपूर्तिको पनि माग गरे ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले काभ्रेमा राज्यले मजदुरको हत्या गरेको बताए । ‘काभ्रेको घटना हत्या हो सभामुख महोदय, पोलमा मजदुर चढेका बेला बिना सूचना बिजुली छोड्नु भनेको हत्या नै हो,’ सांसद शाहीले भने, ‘यो घटनाको छानबिन होस् र जान मार्ने कसुरमा मुद्दा चलोस् ।’