काठमाडौं । काठमाडौंमा आजको मौसम खासै सफा भएन । राम्रोसँग घाम लागेको छैन भने उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ । यस्तो बेला पनि सगरमाथा संवादमा सहभागी विदेशी पाहुनासहितनेपाली विज्ञहरूको टोलीले माउन्टेन फ्लाइटमार्फत् सगरमाथासहितका हिमालको अवलोकन गरेका छन् ।
आइतबार बिहान २४ जना विदेशीसहितको टोलीले माउन्टेन फ्लाइटमार्फत् सगरमाथासहित ल्होत्से, चोयु, शिसापाङ्मा, अमादब्लम, गौरीशंकर, मकालु, लाङटाङ लगायत हिमालहरूको अवलोकन गरेका हुन् ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको नेतृत्वमा भएको उक्त माउन्टेन फ्लाइटको उद्देश्य नेपालमा जलावायु परिवर्तनले देखिएको असरबारे विदेशी पाहुनालाई प्रत्यक्ष अवलोकन गराउनु रहेको बताइएको छ ।
सगरमाथा संवादका लागि आएका पाहुनालाई माउन्टेन फ्लाइटमार्फत् हिमालहरूको अवलोकन गराइएको हो ।
यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए । करिब एक घण्टाको माउन्टेन फ्लाइटमा मनमोहक हिमशृंखलाको दृश्यावलोकन गरेका थिए ।
साहसिक गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई माउन्टेन फ्लाइट गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।
‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक पहिलोपटक आयोजित अन्तरराष्ट्रियस्तरको ‘सगरमाथा संवाद’मा स्वदेशी र विदेशी गरी तीन सय ५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ ।