काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको लागि दबाब दिन बनेको ७ नेता सम्मिलित समूहले छलफल गरेको छ ।
आइतबार नेता गोपालमान श्रेष्ठका छोराको सानेपास्थित अपार्टमेन्टमा उनीहरुबीच छलफल भएको हो ।
भेलामा श्रेष्ठसहित विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत सहभागी रहेका थिए । यसअघिका बैठकमा नेता विजयकुमार गच्छदार पनि सहभागी भएका थिए ।
१५ औं महाधिवेशन समयमा गर्नुपर्ने, सभापति शेरबहादुर देउवाले उत्तराधिकारी आफूहरूको समूहबाट तोक्नुपर्ने जस्ता माग उनीहरूका छन् ।
महाधिवेशन छिटो गर्ने गरी सदस्यतासहितका विषयलाई छिटो टुंग्याउन पनि उनीहरूले दबाब बढाउँदै आएका छन् ।
देउवाले पूर्णबहादुर खड्का, डा. शेखर कोइराला र महामन्त्री गगन थापालाई कुनै पनि हालतमा नेतृत्व सुम्पनु नहुनेमा उनीहरु एकमत छन् । उता देउवाले भने आफ्नो उत्तराधिकारी को हुने भन्ने विषयमा मुख खोलेका छैनन् ।