Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कैलाली प्रहरीमा 'घुमुवा' बन्न दौडधूप, बेनामे उजुरीमाथि आशंका

कैलाली प्रहरीमा 'घुमुवा' बन्न दौडधूप, बेनामे उजुरीमाथि आशंका

सोमवार , जेठ ६, २०८२

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा नयाँ नेतृत्व आएसँगै घुमुवा प्रहरीका लागि पनि दौडधूप तीव्र बनेको छ ।

प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणा र प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार सिंहको आगमनपछि केही प्रहरी कर्मचारीहरू सक्रिय रूपमा सादा पोसाकमा खटिने 'घुमुवा प्रहरी' बन्ने प्रयासमा देखिएका हुन् ।

स्रोतका अनुसार असईदेखि वरिष्ठ सई तहका प्रहरी कर्मचारीहरू घुमुवा बन्नका लागि नेतृत्वसँग नजिकिन प्रयत्नशील छन् । उनीहरू पहिलाका घुमुवाहरूलाई विभिन्न आरोप लगाएरै भएपनि हटाउने प्रयासमा देखिएका छन् ।

यसअघिका केही घुमुवा प्रहरीहरूले सूचना संकलन र अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खलेका छन् । तर उनीहरूलाई विवादित बनाएर भएपनि आफूहरू घुमुवा बस्ने दाउमा केही व्यक्तिहरु देखिएका छन् । घुमुवा प्रहरीको जिम्मेवारी संवेदनशील र जोखिमपूर्ण मानिन्छ ।

तर स्वार्थका लागि घुमुवा प्रहरी बन्न केही कर्मचारीहरुले चलखेल गरिरहेका छन् । डीएसपी सिंहको गृह जिल्लाका केही प्रहरी कर्मचारीहरू यो जिम्मेवारीमा पुग्न थप इच्छुक देखिएका छन्, जसले उनलाई व्यक्तिगत नाता वा चिनजानको आधारमा प्रभावित पार्ने प्रयास गरिरहेको आरोप छ ।

सूचना संकलन र अपराध नियन्त्रणभन्दा पनि उनीहरुको नजर कमाउ धन्दामा छ । त्यही भएर नेतृत्वसँग चिनजान भएका व्यक्तिहरु अहिले घुमुवा प्रहरी बन्न चलखेल गरिरहेको आरोप लागेको हो । उसो त सादा पोसाकमा खटिएका प्रहरीहरु बेलाबेला विवादमा पनि तानिने गरेका छन् ।

केही समय अगाडि विवाद हुन थालेपछि हेडक्वार्टरले घुमुवा प्रहरी नराख्न सर्कुलर जारी गरेको थियो । तर उक्त सर्कुलर कार्यान्वयन भएको थिएन । यता केही हप्ता अगाडि नेपाल पत्रकार महासंघ कैलालीमा घुमुवा र सिमानाकामा कार्यरत प्रहरीविरुद्ध बेनामे उजुरी परेको थियो ।

जसमा, घुमुवा प्रहरी आर्थिक लेनदेनमा लागेको, सिमानाका प्रहरीहरु तस्करसँग मिलेर लाखौँ असुली रहेको आरोप थियो । सो बेनामे पत्र कसले पठायो भन्नेबारे अहिलेसम्म पुष्टि भएको छैनन् । यद्यपि पूर्व प्रहरी वा प्रहरीभित्रकै कर्मचारीले सो फन्डा निकालेको आशंका पनि व्यक्ति गरिएको छ ।

यसअघि पनि कैलालीमा नयाँ नेतृत्व आएपछि महासंघमा बेनामे उजुरी परेको थियो । त्यस बेला जिल्ला प्रहरी कार्यालय कैलालीले पूर्व प्रहरीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077