सर्लाही । सर्लाहीमा ठूलो परिमाणमा लागुऔषध (गाँजा) बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीअन्तर्गत इलाका प्रहरी कार्यालय, लालबन्दीले सोमबार राति ११२.७८ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको नेतृत्वमा खटिएको टोलीले प्राप्त गोप्य सूचनाका आधारमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनेखोलामा भारतीय नम्बर प्लेटको सेतो स्कर्पियो गाडी (BR 32 AN 0817) र लु ३३ प ३८९४ नम्बरको पल्सर मोटरसाइकल चेकजाँच गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार पत्थरकोटतर्फ गाँजाको ओसारपसार हुँदै थियो । प्रहरी त्यहाँ पुगेको थाहा पाएपछि सवारीसाधन छोडी भाग्ने क्रममा लालबन्दी–१४ का ४२ वर्षीय सोम बहादुर तामाङलाई पक्राउ गरिएको हो ।
प्रारम्भिक सोधपुछमा तामाङले भारतीय गाडीमा गाँजा रहेको खुलाएपछि प्रहरीले गाडी खानतलासी गर्दा पछाडिको डिक्कीमा रातो प्लास्टिकमा प्याक गरिएको २१ पोका गाँजा फेला परेको हो ।
स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रमाणिक तराजुमा तौल गर्दा ती पोका कुल ११२.७८ किलोग्राम गाँजा रहेको पुष्टि भएको सर्लाही प्रहरीले जनाएको छ ।
बरामद लागूऔषध, सवारीसाधन तथा पक्राउ परेका तामाङलाई लागुऔषध नियन्त्रणसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत सर्लाहीबाट ९ दिनको म्याद थप गरिएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय, लालबन्दीमा राखेर अनुसन्धान थालिएको छ ।