कैलाली । कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा मंगलबार एक बेवारिसे गर्भवती महिलाको उद्धार गरी सडकमै सुरक्षित प्रसूति गराएकी प्रहरी जवान चन्द्रिका देउवालाई सम्मान गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले जवान देउवालाई आज बिहान साढे ११ बजे सम्मान गर्न लागेको हो । मानवीयता, साहस र कर्तव्यपरायणताको अनुकरणीय उदाहरण प्रस्तुत गरेबापत प्रहरी जवान देउवालाई सम्मान गरिन लागिएको बताइएको छ ।
प्रहरी जवान देउवाले हिजो बेवारिसे गर्भवती महिलाको उद्धार गर्दै सडकमै सुरक्षित प्रसूति गराएकी थिइन् । ती बेवारिसे महिला बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्य रहेको खुलेको छ । उनी अत्तरियामा डेरा गरी बस्दै आएकी थिइन् ।
गर्भवती अवस्थामा रहेको बेला मंगलबार बिहान गोदावरी नगरपालिका–१ को गृहेश्वरी टोलस्थित डेराबाट मालाखेती अस्पताल जान भन्दै एक्लै निस्किएकी उनी बाटोमै सुत्केरी भइन् ।
आचार्य बसन्तपुर क्षेत्रमा सडकमा छटपटाइरहेको अवस्थामा फेला परेपछि स्थानीयले इलाका प्रहरी कार्यालय मालाखेतीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी चौकी खैरानाबाट वरिष्ठ प्रहरी हवल्दार धर्मानन्द भट्ट र प्रहरी जवान चन्द्रिका देउवा घटनास्थलतर्फ खटाइएका थिए।
प्रहरी पुग्दा चन्द्रालाई सुत्केरी व्यथाले च्यापिरहेको थाहा पाएपछि तुरुन्तै एम्बुलेन्सको व्यवस्था गर्न खोजिएको थियो। तर एम्बुलेन्स आइपुग्नु अघि नै उनले सडकमै शिशुलाई जन्म दिइन् ।
उनको परिचय नखुलेका कारण वरपरका स्थानीयले छुने अवस्था थिएन। तर प्रहरी जवान चन्द्रिका देउवाले जिम्मेवारीपूर्वक अग्रसरता देखाउँदै नवजात शिशुलाई सुरक्षित बनाइन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।