काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल लमजुङको शनिबार भएको अधिवेशनमा उत्पन्न विवादपछि खुकुरी प्रहार गर्ने ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
घटना भएको तीन दिनपछि घाइतेका परिवारले दिएको जाहेरी दर्ताको आधारमा ४ दिनपछि ४ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पीडितले जाहेरी दर्ता नगरेको भन्दै चौतर्फी दबाब भएको थियो । जिल्ला अदालत लमजुङबाट खुकुरी प्रहार गर्ने मध्यनेपाल नगरपालिका–७ का ३८ वर्षीय धनसुब्बा तामाङ (धन), राइनास नगरपालिका–६ का ४० वर्षीय गणेश गुरुङ, मर्स्याङ्दी गाउँपालिका–५ का ४२ वर्षीय कुमराशी गुरुङ (भूपेश) दोर्दी गाउँपालिका वडा नम्बर ४ बस्ने होमराज घले विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई अपराध संहिता २०७४ को १८३ बमोजिम पक्राउ पुर्जी जारी गरिएको हो । यसमा ज्यान मार्ने उद्योग गर्न नहुने व्यवस्था छ ।
त्यसैको उपदफा १ बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।
तरुण दलको आन्तरिक विवादका कारण गत शनिबार भएको खुकुरी प्रहारबाट घाइते भएका ४ मध्ये गम्भीर घाइते बन्न पुगेका बेंसीसहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत र नेपाल तरुण दलका सदस्य शंकर सापकोटाको लमजुङमै उपचार भइरहेको छ ।
नेपाली कांग्रेसको १३औं महाधिवेशनपछि शक्ति संघर्ष गर्दै र प्रतिष्ठाको लडाइँ लड्दै आएका गण्डकीका अर्थमन्त्री डा. टकराज गुरुङ र वन तथा वातावरण मन्त्री भेषबहादुरको टकरावकै कारण तरुण दलको पाँचौ जिल्ला अधिवेशन विवादले हिंसात्मक रूप लिएको थियो ।
तरुण दलको जिल्ला अधिवेशन लमजुङबाट सुरु भएको थियो । अधिवेशन थालिएको पहिलो जिल्लामै हातहतियार प्रहार भएको हो ।