Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

तीनकुने घटनाको अनुसन्धान सकियो, १०८ जना प्रतिवादीसहितको प्रतिवेदन बुझाउँदै प्रहरी

तीनकुने घटनाको अनुसन्धान सकियो, १०८ जना प्रतिवादीसहितको प्रतिवेदन बुझाउँदै प्रहरी

बुधवार , जेठ ८, २०८२

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकेर प्रहरीले फाइल बुझाउने प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो ।

घटनामा १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको फाइल प्रहरीले बुझाउन लागेको छ । पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

अनुसन्धानको पाटो सकिएकाले अब डकुमेन्टेसन गरेर आज,भोलिमा सरकारी वकिल कार्यालयमा प्रतिवेदन फाइल बुझाउन लागिएको प्रहरीले जनाएको छ ।

प्रहरीको उक्त अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि कसलाई कस्तो मुद्दा चलाउने, को–को प्रतिवादी हुने भन्ने यकिन टुंगो भने सरकारी वकिल कार्यालयले लगाउनुपर्ने छ ।

संगठित अपराधको कसुरमा पक्राउ परेको मितिले ६० दिनभित्र मुद्दा अदालतमा पुगिसक्नु पर्नेहुन्छ ।

१५ जेठ अघि नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले जतिसक्दो चाँडो अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीले तयारी गरेको छ ।

प्रहरीले मुद्दा चलाउनुपर्ने भनेर उल्लेख गरिएका १ सय ८ जनामध्ये भने १८ जना अझै फरार छन् । बाँकीलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको छ ।

तीमध्ये राप्रपा महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत भाटभटेनीका फलफूल टिप्ने केहीलाई भने हाजिरी जमानीमा हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ ।

अदालतमा मुद्दा पुगेपछि उनीहरूलाई अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

ठूलो संख्यामा प्रतिवादी बन्ने भएपछि परिसरले थप चार युनिटबाट अनुसन्धान अधिकृत मगाएर अनुसन्धान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077