काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलस्थित अध्यागमन कार्यालमा दैनिक २० लाख रुपैयाँसम्म घुस लेनदेन हुने गरेको खुलेको छ ।
अख्तियारले गरेको प्रारम्भिक छानविनमा एक दिनमा औसतमा एक सय जनालाई सेटिङमा उडाउने गरिएको छ ।
जसमा एक जना बराबर न्यूनतम २० हजार रुपैयाँ लिने गरिएको छ । जसअनुसार दिनमै कम्तीमा २० लाख घुस असुल्ने गरिएको छ ।
सोही सूचनाका आधारमा अख्तियारले बिहीबार छापा हानेर कार्यालय प्रमुख तिर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।
आर्थिक लेनदेनको सूचनाका आधारमा आयोगले छापा हानेर उनलाई नियन्त्रणमा लिएको हो । अख्तियारले प्रमाण संकलन गरेपछि मन्त्रालयले उनलाई हटाएको हो।
यसमा भट्टराई मात्र नभई मन्त्रालयसम्मकै सेटिङ रहेको स्रोत बताउँछ । हाल अध्यागमनमा गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीका कोर टिमका मान्छे मात्र कार्यरत छन् ।
कतिपय प्रिपेड घुस बुझाएर अध्यागमनमा सरुवा भएका छन् । सबै सेटिङका कर्मचारी मात्र अध्यागमनमा कार्यरत रहेको स्रोत बताउँछ ।
सेटिङको कोर छिटमा रहेका यज्ञराज अर्याल, कमल पन्थी, उदयराज भट्टराई, मुरारी निरौला, गम्भीरसिंह बिष्ट लगायत नियम मिचेर अध्यागमनमा कार्यरत छन् ।
अख्तियारले केही कर्मचारीको मोबाइल नियन्त्रणमा लिएको छ । कतिपयले दुई वटा मोबाइल बोक्ने खुलेको छ ।
केही डिभाइसहरु समेत नियन्त्रणमा लिएकाले भिजिट भिसा गिरोहको मन्त्रालयसम्मको सेटिङ खुल्ने सम्भावना बढेको छ ।