काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई छुटेका छन् ।
अख्तियारले भट्टराईलाई बुधबार राति बोलाएको बखत उपस्थित हुने गरी कागज गराएर छोडेको हो । उनलाई बिहीबार अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ । उनको मोबाइल आयोगले जफत गरेको छ ।
गत असोजमा अध्यागमन प्रमुख भएका भट्टराईले लगत्तै रेट बढाएर भिजिट भिसाको सेटिङ बढाएका थिए । पछिल्लो समय दिनमै ५० लाख रुपैयाँसम्म लेनदेन हुने गरेको थियो ।
सोही सूचनाका आधारमा आयोगको टोलीले निगरानी गरी प्रमाण संकलन गरेको थियो । अख्तियारले सहसचिव भट्टराईलाई निगरानीमा राखेको थाहा पाएपछि गृह मन्त्रालयले बुधबार हतार हतार भट्टराईको सरुवा गरेको थियो। तर, उनले रमाना लिइसकेका थिएनन्।
अख्तियारले उनलाई अध्यागमनबाटै पक्राउ गरेको थियो । कर्मचारीलाई दैनिक घुस बुझाउने एजेन्टहरुको समेत मोबाइल जफत गरेर अनुसन्धान थालिएको बताइएको छ ।
भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न मुलुक पठाएको आरोपमा अनुसन्धानका लागि उनलाई अख्तियारले बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो । अख्तियारले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।