काठमाडौं । भिजिट भिसाका नाममा भइरहेको मानवतस्करीमा अख्तियारले छानविन थालेपछि अध्यागमन कार्यालय मात्र होइन गृह मन्त्रालयसम्म पराकम्प गएको छ।
दैनिक ५० लाख रुपैयाँसम्म लेनदेन हुने र त्यो पैसा गृह मन्त्रालयसम्म पुग्ने विषयले सिंगो गृह प्रशासनमाथि प्रश्न उठेको छ।अख्तियारले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयसहित मेनपावर कम्पनी र ट्राभल एजेन्सीमा छापा हानी सेटिङका प्रमाण संकलन गरेको छ।
अध्यागमन प्रमुख तिर्थराज भट्टराईलाई केही घन्टा नियन्त्रणमा लिई सोधपुछ गरेर छाडिएको छ । उनको मोबाइल जफत गरी परीक्षणमा पठाइएको छ। जसबाट धेरै प्रमाण खुल्ने अपेक्षा गरिएको छ।
स्रोतका अनुसार अध्यागमन असुल हुने पैसामध्ये आधा कर्मचारीले र आधा माथिल्लो निकायमा बुझाउने गरिएको थियो। जसमा अध्यागमन विभाग, गृहसचिव र गृहमन्त्रीको सचिवालयसम्म पुग्ने गर्दथ्यो।
अध्यागमन विभागका महानिर्देशकमा गोविन्द रिजाल छन् । उनको समेत मिलेमतोमा भिजिट भिसाको सेटिङ धन्दा फस्टाएको स्रोत बताउँछ । सोही कारण अध्यागमनमा अनेक विवाद आउँदा पनि उनले बदनाम कर्मचारीलाई सरक्षण गर्दै आएका थिए।
केहीलाई विभागमा तानेर एक हप्तामै फिर्ता समेत गरिएको स्रोत बताउँछ । महानिर्देशक रिजालको केही मेनपावर र ट्राभल एजेन्सीसँग छुट्टै सेटिङ देखिएको छ।
उनी पनि गृहमन्त्रीको सचिवालयलाई खुशी बनाएर विभागको महानिर्देशक बनेका हुन्। अख्तियारले विभिन्न एजेन्टहरुको मोबाइल जफत गरेपछि महानिर्देशक रिजाल पनि तर्सिएका छन् ।
अध्यागमनका दर्जन अधिकृत त तानिने निश्चित भइसकेको स्रोत बताउँछ । भट्टराई निकट भएर सेटिङको राज चलाउने यज्ञराज अर्याल, कमलराज उपाध्याय, दीपक पाण्डे, प्रभा अर्याल, भीष्मराज अर्याल, सरोज खनालहरुको बिचौलियासँग लेनदेन भेटिएको छ।
उनीहरुले २ वटा मोबाइल बोकेर भिजिट भिसाको सेटिङ मिलाउँथे । खाडी जानेसँग प्रतिव्यक्ति ५० हजारसम्म र यूरोप जानेसँग ४ लाख रुपैयाँसम्म असुलिएको प्रमाण आयोगले फेला पारेको छ ।